
काठमाण्डु, ९ पुस– संविधान निर्माणका विवादमा सहमति खोज्ने प्रयासमा प्रमुख तीन दलसहित मधेसी मोर्चाका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चार पक्षको बैठक बस्न लागेको हो ।
यसअघि हिजो बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि आजका लागि सारिएको थियो । संविधान जारी गर्न तोकिएको समयसीमा माघ ८ आउन एक महिनामात्र बाँकी रहे पनि दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीजस्ता महत्त्वपूर्ण विषयमा अझै कुरा मिल्न सकेको छैन ।
प्रमुख दलहरु संविधान निर्माणमा उत्पन्न जटिलताबारे एक अर्कालाई दोषारोपण गरेर आफू उम्कने कोसिसमा छन् ।
सत्तारुढ कांग्रेस–एमालेले सहमति नभए बहुमतीय प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने बताउँदै आएका छन् । एकीकृत माओवादी र मधेस केन्द्रितसहित केही साना दल गणितीय आधारमा नभई सहमतिमा संविधान जारी गर्नुपर्ने अडानमा छन् । कांग्रेस–एमालेले सहमतीय संस्कृतिविपरीत बहुमतको आडमा पेल्न खोजेको भन्दै ती दलले मोर्चा बनाएर आन्दोलन घोषणा गरेका छन् ।