काठमाण्डु, ९ पुस–माघ ८ नजिकिँदै गर्दा दलहरुबीच बढेको तिक्ततासँगै सुरक्षा निकाय अलर्ट भएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकले चुनौतकिो विश्लेषण गरी सुरक्षा निकायलाई तयारी थाल्न निर्देशन दिएको छ ।
संविधानका अन्तर्वस्तुमा दलहरुबीच विवाद बढ्न थालेपछि सहमतिका लागि दबाब दिन भन्दै ३० दलले आमहड्तालका कार्यक्रम सार्वजनिक गरेको विषयमा सोमबार समीक्षा गर्न गृहमा तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो ।
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकालका अनुसार सुरक्षा बैठक माघ ८ को सुरक्षा चुनौतीको विषयमा केन्द्रित भएको थियो । जिल्ला–जिल्लामा सुरक्षा चुनौती मूल्यांकन गरी सुरक्षा तयारी गर्न उनले निर्देशन भएको उनले बताए ।
बैठकमा माघ ८ नजिकिँदै गर्दा जातीय भड्काव हुन सक्ने विश्लेषण गर्दै सुरक्षा चिन्ता गरिएको थियो ।