विद्युत् चोरी नियन्त्रण गर्न विशेष अभियान सञ्चालन

काठमाण्डु टुडे २०७१ पुष ९ गते २:४६ मा प्रकाशित

रौतहट, ९ पुस– नेपाल विद्युत् प्राधिकरण रौतहटले विद्युत् चोरी नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत विगत ३ सातामा १ सय २५ जनालाई पक्राउ गरी जरिवाना गराइसकेको छ । जिल्लामा केही समयदेखि विद्युत् चुहावट अत्यधिक वृद्धि भएपछि प्राधिकरणले अभियान नै सञ्चालन गर्नुपरेको प्राधिकरणका प्रमुख हरदेव गुप्ताले बताए ।

प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिल्लाको विभिन्न गाविसमा दिउँसो तथा रातको समयमा अनुगमन गरी विद्युत् चोरी भएको स्थानमा पक्राउ गर्ने कार्यलाई तीव्रता दिएपछि जरिवानाबापत रु ११ लाखभन्दा बढी राजस्व असुलसमेत भएको जनाएको छ ।

विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले गम्भीरता देखाएपछि जिल्लामा विद्युत् मिटर लिने ग्राहकको संख्यामा समेत वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us