काठमाण्डु, ८ पुस– एमाले अध्यक्ष केपी ओलो नगएपछि मंगलबार बस्ने भनिएको प्रमुख तीन दलसहित मधेसी मोर्चाका शीर्ष नेताको बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक ओलीको अनुस्थितिका कारण नबसेको हो ।
निर्धारित समय चार बजेअघि नै बालुवाटार पुगेका काँग्रेस, एमाले, एमाओवादी र मधेस केन्द्रित दलका शीर्ष नेता ओलीलाई केहीबेर कुर्दाकुर्दा हैरान भएपछि कालो चिया खाएर बाहिरिएका थिए ।
शनिबारको बैठकपछि भाँडिएको दलीय संवाद पुन: सुचारु गराउने प्रयासमा प्रधानमन्त्री सुशील कोइरालाले बैठक आह्वान गरेका हुन् ।
एक घण्टा कुर्दा पनि ओली नआएपछि आफूहरु बालुवाटारबाट हिंडेको सदभावना अध्यक्ष राजेन्द्र महतोले बताए ।
यसअघि मंगलबार बिहान बोलाइएको बैठक एमाओवादीले मधेसी मोर्चाका नेताहरुको अनुपस्थितिमा छलफल हुन नसक्ने अडान राखेपछि दिउँसो चार बजेका लागि बोलाइएको थियो ।