
काठमाण्डु, ८ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले गणितबाट संविधान बनाए रक्तपात गर्ने एमाओवादी धम्कीबाट नडराउने बताएका छन् ।
प्रेस चौतरीले राजधानीमा मंगलबार गरेको कार्यक्रममा ओलीले सहमति नभए प्रक्रियाबाटै भए पनि माघ ८ मा संविधान जारी गरेरै छाड्ने बताए ।
ओलीले माओवादीले रक्तपात मच्चाउन नसक्ने भन्दै ‘बाख्रो काटेर रक्तपात’ नहुने टिप्पणी गरे । ‘माओवादी आफूले भनेजस्तो नभए रक्तपात मच्चाउँछु भन्ने धम्की दिँदै हिंडेको छ’, ओलीले भने, ‘के माओवादीले बाख्रो काटेर रक्तपात मच्चाउन खोजेको हो ?’
ओलीले एमाओवादी माघ ८ मा संविधान आउन नदिन षड्यन्त्रमा लागेको आरोप लगाए । माओवादीले भनेजस्तो जातीय राज्य नहुने भन्दै उनले राष्ट्रियतामा सम्झौता नुहने प्रष्ट्याए । माओवादीले जातीय राज्य ल्याएर मुलुकलाई रुवाण्डा बनाउन खोजेको उनको जिकिर थियो ।
अर्को एक फरक प्रसंगमा ओलीले आफू राजामहाराजा नभई सिपाही भएको प्रष्टीकरण दिए । बरु प्रचण्डले नै राजा बन्ने सपना देखाएको उनको आरोप थियो । शनिबार बालुवाटारमा बसेको तीन बैठकपछि प्रचण्डले ओलीले मुलुकको ठेकेदार जसरी राजामहाराजा प्रवृत्ति देखाएको टिप्पणी गरेका थिए ।
‘म राजामहाराजा होइन सिपाही हुँ, ओलीले ठट्यौलो शैलीमा भने, ‘मैले सिपाही हुँ भन्दा प्रचण्डले कहिलेदेखि सिपाहीको जागिर खाइस् भन्लान् ।’
र यो पनि पढौं