गाडी भाडा घटाउन भएको वार्ता असफल

काठमाण्डु टुडे २०७१ पुष ८ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, ८ पुस– सरकार र आन्दोलनरत विद्यार्थीबीचको वार्ता असफल भएको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य बमोजिम नेपाली बजारमा मूल्य समायोजन हुनुपर्ने र सार्वजनिक यातायातमा भाडा घटाउनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थीबीच आज साँझ भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले सरकारका तर्फबाट विद्यार्थीका माग सम्बोधन गर्न आफू तयार भएको तर नयाँ भाडादर कायम गर्न यातायात व्यवसायीहरुसँग कुरा गर्नुपर्ने भन्दै तत्काल निर्णय गर्न नसकिने बताएपछि वार्ता असफल भएको हो ।
‘तपाईंहरुको माग ठीक हो, यसमा हामी गम्भीर र सकारात्मक छौं तर यातायात व्यवसायीसँग कुरा नगरी निर्णय गर्न सकिन्न,’ मन्त्री निधिको भनाइ उधृत गर्दै एक विद्यार्थी नेताले बताए ।
विद्यार्थीहरुले भने प्रत्येक दुई किलोमिटरलाई न्यूनतम स्टेशन मानेर भाडा घटाउनुपर्ने प्रस्ताव राखेका थिए ।
वार्तामा सरकारका तर्फबाट मन्त्री निधिसहित यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला र यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक समेत सहभागी थिए । विद्यार्थीका तर्फबाट नेविसंघका युपी लामिछाने, एमाले अखिलका किशोरविक्रम मल्ल, एमाओवादी निकट क्रान्तिकारीका रमेश मल्ल, नेकपा–माओवादी निकट क्रान्तिकारीका रत्न ढकाल, नेकपा माओवादी (विप्लव नेतृत्वको) का शरद रसाइली र मधेसी विद्यार्थी फोरमका कपिलेश्वर यादव सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us