विश्वमा वर्षभरि ६० पत्रकारको हत्या

काठमाण्डु टुडे २०७१ पुष ८ गते ११:३२ मा प्रकाशित

न्युयोर्क, ८ पुस– विश्वमा यो वर्षभरि कम्तीमा ६० जना पत्रकारको हत्या भएको पत्रकारिता सम्बन्धी एक विश्व संस्थाले सार्वजनिक गरेको छ ।

hatiyar1

कमिटी टु प्रोटेक्ट जर्नालिष्टले दिएको जानकारीअनुसार सन् २०१४ मा मारिएका पत्रकारमध्ये हालैमात्र अस्तित्वमा आएको एक अतिवादी संस्था इस्लामिक स्टेट्स (आईएस) को बढी संलग्नता रहेको पाइएको छ ।

सो संस्थाले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्ष ६० जना पत्रकारको हत्या भएको र यो सङ्ख्या विगतका वर्षको तुलनामा खतरनाक रुपमा बढिरहेको जनाएको छ ।

सो संस्थाले पत्रकारहरुका लागि यो वर्ष नराम्रो वर्षका रुपमा रहेको पनि बताएको छ । सो सङ्ख्यालाई पत्रकारहरुको हत्याको अस्वभाविक उच्च भनी सो संस्थाले टिप्पणी गरेको छ ।

सन् २०१४ मा मारिएका यी पत्रकार अधिकांश कार्यस्थलमै मारिएकोले पनि पत्रकारहरुका लागि यो वर्ष अत्यन्तै कठिन र असुरक्षित वर्षका रुपमा रहेको सो संस्थाले अध्ययनमा पाएको जनाएको छ ।

यसरी मारिनेमा दुई जना अमेरिकी पत्रकार पनि रहेका छन् । अमेरिकी पत्रकारद्वय जेम्स फोली र स्टेभेन सत्लफ हुन् । उनीहरुलाई आईएसले हत्या गरेको थियो ।

उक्त अतिवादी संस्थाले ती अमेरिकी पत्रकारको टाउको काटेर गरेको हत्या अत्यन्तै डरलाग्दो रहेको थियो । उक्त समाचारले विश्वका पत्रकारहरुलाई पनि कामगर्न निकै त्रसित बनाएको बताइएको थियो ।

जर्मन पत्रकार अन्जा नाइड्रिङ्गस पनि कार्यस्थलमा नै मारिएकी थिइन् । अफगानिस्तानमा रहेर फोटो पत्रकारिता गरिरहेकी उनलाई त्यहाँ सैनिकले नै गोली हानी हत्या गरेका थिए ।

सन् २०१४ मा अफगानिस्तानमा जारी आमनिर्वाचनको फोटो खिच्ने क्रममा उनको हत्या भएको थियो । अफगान सैनिकले नै उनी र अर्का एकजना पत्रकारलाई गोली हानेको र अर्का एकजना सम्वाददाता गम्भीर रुपमा घाइते भएका थिए ।

त्यस्तै सन् २०१४ मा नै युक्रेनमा कम्तीमा पनि छ जना पत्रकार मारिएका छन् । उनीहरु विदेशी पत्रकार हुन् । समाचार सङ्कलनकै क्रममा उनको हत्या भएको थियो ।

युक्रेन यस वर्षको धेरैजना पत्रकार मारिने देशमध्येमा पनि परेको छ । त्यहाँ सन् २००१ पछि पहिलो पटक पत्रकारको हत्या भएको हो ।

यसरी मारिएका पत्रकारमा कम्तीमा पनि एक चौथाई पत्रकार विदेशी सम्वाददाताहरु हुन् । उनीहरु समाचार सङ्कलन र सम्प्रेषणकै क्रममा विदेशी भूमिमा मारिएका हुन् ।

सिरिया सन् २०१४ मा पनि सबैभन्दा बढी पत्रकार मारिने देशको सूचीमा परेको छ । सिरियामा यसवर्ष १७ जना पत्रकार मारिएका छन् । यसअघिल्ला वर्षहरुमा पनि सिरियामा धेरै पत्रकार मारिएका थिए ।

यस वर्ष सिरिया लगायतका देशबाट करिब २० जना विदेशी पत्रकारलाई इस्लामिक स्टेट्सका हतियारधारीले अपहरण गरेका थिए ।

सिरियामा सन् २०११ मा सुरु भएको आन्दोलनपछि त्यहाँका र विदेशी गरी ७९ जना पत्रकार मारिएका छन् । कयौं पत्रकारलाई अङ्गभङ्ग पनि गराइएको छ ।

यसरी मारिने पत्रकारमध्ये करिब आधाजति पत्रकार मध्यपूर्वी क्षेत्रका देशहरुमा मारिएका छन् । मारिएकामध्येमा ३९ प्रतिशत गोली हानी मारिएका पनि सो प्रतिवेदनमा जनाइएको छ ।

सिपीजेले हालैका वर्षहरुमा सुरु गरेको पत्रकारमाथिको हमलाको तथ्याङ्कमा पछिल्ला तीन वर्ष धेरै हिंस्रक रहेका र यी तीन वर्षमा यसअघिका तुलनामा धेरै पत्रकार मारिएका सो संस्थाले जनाएको छ ।
रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us