
रुपन्देही, ८ पुस– गौतम बुद्धको जन्मस्थल जाने नेपाली पर्यटहरुको संख्या बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीको प्रचारप्रसारले व्यापकता पाएसँगै लुम्बिनी आउने आन्तरिक पर्यटकको सङ्ख्यामा व्यापक वृद्धि भएको हो ।
पछिल्लो समय लुम्बिनीमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् ।
सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई नेपालसहित विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ लगायतका प्रचारात्मक कार्य र आम नेपालीमा एकपटक लुम्बिनी पुग्नैपर्ने सोेचको विकास भएपछि लुम्बिनी आउने नेपाली पर्यटकको सङ्ख्यामा व्यापक वृद्धि आएको हो ।
अहिले लुम्बिनी अवलोकन तथा भ्रमणका लागि देशका विभिन्न स्थानबाट आम नेपाली पर्यटक आउने गरेका छन् भने विभिन्न कलेज, विद्यालय, सङ्घसंस्थाले लुम्बिनी भ्रमणका लागि लुम्बिनीलाई गन्तव्यका रुपमा लिएपछि लुम्बिनी आउनेको सङ्ख्या निकै बढेको हो ।
लुम्बिनीमा घुम्नका लागिसमेत प्रसस्त ठाउँ भएपछि आमनेपालीले लुम्बिनीलाई गन्तव्य बनाएको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिए ।
सन् २०१२ मा पाँच लाख २९ हजार २१० आन्तरिक पर्यटकले लुम्बिनीको अवलोकन भ्रमण गरेकामा सन् २०१३ मा त्यसको सङ्ख्या बढेर पाँच लाख ७३ हजार ५२९ पुगेको छ ।
लुम्बिनी भ्रमण वर्ष मनाउनुुपूर्व सन् २०११ मा जम्मा तीन लाख ९५ हजार ५७० जनाले मात्रै लुम्बिनी भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै सन् २०१३ मा पाँच लाख ७३ हजार ५२९ जना पर्यटक आएका थिए भने २०१४ को नोभेम्बर अन्तिम सम्ममा बढेर सात लाख ९१ हजार १८० पर्यटक लुम्बिनी अवलोकनका लागि आएका छन् ।
लुम्बिनी अवलोकनका लागि पछिल्लो समय बौद्ध धर्मसँग सम्बन्धित तीर्थयात्री सँगसँगै युवा–युवती, बालबच्चा, वयस्क र वृद्धवृद्धा लुम्बिनी भ्रमणका लागि आएको देखिन्छ । पछिल्लो समय लुम्बिनीलाई केन्द्र बनाएर विभिन्न विद्यालयले अवलोकन भ्रमण गराउने गरेका छन् भने विद्यार्थीलाई लुम्बिनीबारे सचेत पार्न शैक्षिक भ्रमणको कार्यक्रम राख्ने गरेकाले लुम्बिनीमा नेपाली पर्यटकको सङ्ख्या बढेको कोषले जनाएको छ ।