
काठमाण्डु, ८ पुस– एकीकृत माओवादीको संस्थापन पक्ष र मधेसी मोर्चासहित संघीय गठबन्धनमा आवद्ध दल नारायणकाजी श्रेष्ठसँग सशंकित भएका छन् ।
गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रमबारे श्रेष्ठको असन्तुष्टि बाहिर आएपछि माओवादीभित्रको प्रचण्ड–बाबुराम खेमा र मधेसी मोर्चा क्रुद्ध बनेको हो ।
सत्तारुढ काँग्रेस–एमाले आफूहरुलाई पेलेरै संविधानसभाको अंकगणितका आधारमा संविधकान जारी गर्न उद्दत रहेको भन्दै एमाओवादी नेतृत्वको गठबन्धनले सोमबार आमहड्तालसहितका आदोन्लनका कार्यक्रम घोषणा गरेको थियो ।
त्यसबारे पार्टीभित्र फरक मत राखेका श्रेष्ठले बाहिरसमेत मिडियाबाजी गरेपछि उनको नियतमै प्रश्न उठेको एमाओवादीका एक स्थायी समिति सदस्यले काठमाण्डु टुडेलाई बताए ।
उनले श्रेष्ठले आन्दोलनको विरोध गरेर प्रतिगामी र परिवर्तनविरोधी शक्तिको सेवा गरेको आरोप ती नेताले लगाए ।
‘विगतमा पनि जनयुद्धमा जाने भएपछि पार्टी छाडेर धोका दिए’, ती नेताले भने, ‘अहिले फेरि मुलुकलाई पश्चममनतिर फर्काउने षड्यन्त्र भइरहेकाबेला घोषणा गरिएको आन्दोलनको विरोध गरेर उनले आफूलाई परिवर्तनविरोधी कित्तामा उभ्याएका छन् ।’
उनले सार्वजनिक सञ्चार माध्यममा आएको श्रेष्ठको असन्तुष्टिबारे पार्टीले स्पष्टीकरण सोध्न सक्ने बताए ।
आफ्नो अनुपस्थितिमा बसेको बैठकले हतारमा आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।