अख्तियारको डरले दिए खोटाङका २७ शिक्षकले राजीनामा

काठमाण्डु टुडे २०७१ पुष ८ गते ९:०५ मा प्रकाशित

खोटाङ, ८ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि राजीनामा दिएका खोटाङका २७ शिक्षकको राजीनामा स्वीकृत भएको छ ।
मङ्सिर १ देखि २९ गतेभित्र २७ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘राजीनामा दिने शिक्षकमा अधिकांश राहत दरबन्दीमा काम गर्नेहरु रहेका छन् ।’

अख्तियारले सामुदायिक विद्यालयमा कार्यरत सबै तहका शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र, नियुक्तिपत्र, स्थायी, अस्थायी, राहत, करार, सट्टा र अध्यापन अनुमतिपत्रको सक्कलप्रति खोजेपछि राजीनामा आएको कार्यालयले जनाएको छ ।
आयोगको महाशाखा टङ्गाल काठमाण्डु र पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाले कात्तिक २९ गतेभित्रमा कागजात सङ्कलन गर्न भन्दै जिल्ला शिक्षा कार्यालयलाई असोज ५ गते पत्र पठाएको थियो ।

सुरुमा दिएको समयावधि अपुग भएको भन्दै जिल्ला शिक्षा कार्यालयको आग्रहमा अख्तियारले पुनः मङ्सिर मसान्तभित्र शिक्षकको कागजात सङ्कलन र छानबिन गर्ने समय थप गरेको थियो । जिल्लामा कार्यरत दुई हजार दुई सय शिक्षकको पाँच लाखप्रतिको हाराहारीमा सङ्कलन हुने कागजात अध्ययनका लागि समय अपुग हुने भएकाले थप एक महिनाको समय माग गरिएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us