
बनेपा, ८ पुस–काभे्रपलाञ्चोक जिल्लामा मिर्गौला तस्करी दिन प्रतिदिन बढीरहेको छ ।
दलालले मिर्गौला बेच्न महिलालाई श्रीमती भएको कागज बनाउने र काठमाण्डुमा रगत जाँचेर घुम्ने बहानामा महिलालाई भारत लगेर मिर्गौलाको तस्करी गरिरहेको स्थानीयवासीले जनाएका छन् । उनीहरुका अनुसार्, दलालले ठूलो कमिसन पाउने भएकाले गाउँका विपन्न वर्ग र ऋणमा डुबेकालाई फकाएर लैजाने गरेका छन् ।
जिल्लाको मेथिनकोटकी एक ३५ वर्षकी गृहिणीले कात्तिक अन्तिमसाता भारतमा गएर आफ्नो एउटा मिर्गाैला तीन लाख ७५ हजारमा बेचेर आइन् । दुई सन्तानकी आमा उनले वैदेशिक रोजगारका क्रममा दुई वर्षअघि मलेसियामा श्रीमान्को मृत्यु भएपछि ऋण तिर्न मिर्गौला बेचेकी बताएकी छिन् ।
‘चार लाख ऋण थियो, खेतबारीबाट आम्दानी छैन, तिर्ने उपाय नभएपछि बेचेकी हुँ’ उनले भनिन् । श्रीमान् विदेश जाँदा र त्यसपछि लागेको ऋण तिर्न आफ्नो शरीरको संवेदनशील अङ्ग बेचेको उनले निर्धक्क बताइन् । उनको मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरी पठाएकाले उनलाई कसैले शङ्का गर्ने ठाउँ पनि छैन ।
फूलबारीका तीनजना युवाले एकैसाथ गत साउनमा मिर्गौला बेचेर फर्किएका छन् । उनीहरुले जनही दुई लाख पाएको स्थानीय प्रकाश तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार ती युवाको पनि मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरिएको छ ।
मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउ हुँदा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका मानिसले मिर्गौला बेच्न हौसिएको पाइएको छ । होक्से गाविस १ स्थित एक ठकुरी परिवारका सातजनाले मिर्गौला बेचेपछि दुई वर्षअघि गाउँ नै छाडेका थिए ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले तस्करीमा मिर्गौला बेच्नेकै संलग्नता हुनसक्ने देखिएकाले उनीहरुको पनि आन्तरिक अनुसन्धान भइरहेको उल्लेख गर्दै उनीहरुले सहयोग गरे तस्करीको जालो तोड्न सकिने बताए । उनले तुलनात्मक रुपमा पहिले भन्दा मिर्गौला बेचबिखन कार्य रोकिएको जिकिर गरे ।
केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भएको पाइएको छ ।
सुरुमा काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी गाविसका करिब एक सय आठ जनाले मिर्गौला बेचेको अनुमानित तथ्याङ्क छ तर अहिले त्यसबाट जिल्लाका १० गाविस प्रभावित भएको अनुमान गरिएको छ ।
मिर्गौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित जनअधिकार संरक्षण मञ्चले मिर्गौला बेच्नेको तथ्याङ्क सङ्कलन तथा उनीहरुको अवस्थाबारे अनुगमन गरिरहेको छ । प्रारम्भिक अनुगमनमा काभे्रकातिन सय जनाले मिर्गौला बेचेको पाइएको मञ्चका निर्देशक सतिस शर्माले जानकारी दिए ।
उजुरीपछि २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले पक्रेपछि यहाँबाट केही समय मिर्गौला तस्करी रोकिएको थियो । लगत्तै जेठमा तस्करमध्येका सातजनालाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको छ ।
यो अपराध अन्तर्गत मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुन्छ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ । रासस
ै