
रुपन्देही, ८ पुस– मधेसी बुद्धिजिवी एवम् स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले फेरि मधेसलाई नेपालबाट अलग गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।
गठबन्धनले लुम्बिनीमा गरेको सभामा उनले नेपाल मधेसीहरुको देश नभएको जिकिर गरे । राउतले ६० वर्षअघिसम्म मधेसबाट काठमाण्डु जान भिसा लगाउनुपर्ने व्यवस्था रहेको भन्दै नेपाललाई मधेसीहरुले आफ्नो देश मान्नै नसक्ने उल्लेख गरे ।
उनले संविधानसभाबाट मधेसलाई छुट्टै देश घोषणा नगरे द्वन्द्व हुने चेतावनी दिए । उनले आफू जस्तोसुकै कठिनाइ आइपरे पनि नेपालबाट मधेसलाई अलन गरेरै छाड्ने धम्की दिए । ‘फलामलाई जति चुट्यो उति निक्कर आउँछ’, राउतले भने, ‘मधेसीहरु नेपाललाई कुनै पनि हालतमा आफ्नो देश मान्न तयार छैनन् ।’
राउतले मेसीलाई अल्पमतामा पार्न सरकारले सुकुम्बासीका नाममा मधेसमा पहाडेहरु ल्याउन थालेको भन्दै त्यस्तो कार्य रोक्न चेतावनी दिए । राउत यसअघि नेपाललाई मधेसबाट अलग गर्नुपर्ने अभिव्यक्ति दिएका कारण मोरङको रंगेलीबाट पक्राउ परी केही समय जेलमा बसेर धरौटीमा रिहा भएका थिए ।