
भीमदत्तनगर, ८ पुस–कञ्चनपुरको कृष्णपुर गाविस १ वाणिका स्थानीय बासिन्दाले वाणिमा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् ।
उनीहरुले सो क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वाणिमा प्रहरी चौकी स्थापना गर्न नायव प्रहरी महानिरिक्षक जयबहादुर चन्दसमक्ष माग गरेका हुन् । डिआइजी चन्दसमक्ष स्थानीय बासिन्दाले प्रहरी चौकी नहुँदा असुरक्षित भएको बताए ।
स्थानीय समाजसेवी महेशदत्त जोशीले धेरै अघिदेखि प्रहरी चौकी स्थापनाको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे । अर्का स्थानीय लोकेन्द्रप्रसाद पन्तले इलाका प्रहरी कार्यालय गुलरिया वाणिबाट आठ किलोमिटरभन्दा टाढा रहेकाले चौकीको आवश्यकता रहेको बताए ।
वाणिमा प्रहरी चौकीको स्थापना भएमा कृष्णपुरको वडा नम्बर १, २ तथा देखतभूलीको ७, ८ र ९ मा शान्ति सुरक्षा प्रभावकारी बनाउन सहज हुने स्थानीय बासिन्दाको भनाइ छ ।
क्षेत्रीय प्रहरी प्रमुख डिआइजी जयबहादुर चन्दले स्थानीयवासीको माग जायज भएको बताउँदै चौकी स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गराएर गृहमन्त्रालयबाट अनुमति आवश्यक हुने जनाउँदै त्यसका लागि पहल गर्ने पनि बताए । रासस