
तनहुँ, ८ पुस–वैदी गाविसमा धान कुट्ने मिल बनाउन गएका तीनजनामध्ये सेतीमादीमा खसेर बेपत्ता भएका दुईजना मृत अवस्थामा फेला परेका छन् ।
मिल बनाउन सोमबार दिउँसो तीनजना गएको र साँझ फर्कने क्रममा दुईजना काँहुशिवपुर र वैदी गाविसको बीचमा पर्ने झोलुङ्गे पुल नजिक करिब २० मिटर तल खसेर बेपत्ता भएका थिए ।
उनीहरुसँगै गएका रामचन्द्र चौधरीलाई भने प्रहरीले पक्राउ गरी सोधपुछ गरिरहेको छ ।
चौधरीले आफू अघि हिँडेको र दुईजना पछाडि रहेकाले उनीहरु लडेपछि मात्रै थाहा पाएको बयान दिएका छन् ।
मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं ११ निवासी वर्ष ५३ का रमाकान्त सोती र चितवन जिल्ला पार्वतीपुर गाविस वडा नं ४ बस्ने वर्ष ५१ का बालकृष्ण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटना भएलगत्तै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । हाल उनीहरुको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । रासस