
काठमाण्डु, ८ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणितीय दम्भ देखाएर काँग्रेस–एमालेले मुलुकलाई जबर्जस्ती द्वन्द्वमा धकेल्न खोजेको भन्दै प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टी सम्वद्ध अखिल क्रान्तिकारीको काठमाण्डु उपत्यकाभित्रका क्याम्पस इकाई अध्यक्षहरुसँग आफ्नै निवास लाजिम्पाटमा मंगलबार उनले प्रतिकारमा उत्रन चेतावनी दिएका हुन् । उनले काँग्रेस–एमालेले गणतीय बलमा संविधान जारी गर्न खोजेकाले सहमतिको सम्भावना साँघुरो हुँदै गएको बताएका थिए ।
‘काँग्रेस–एमालेले गणितका आधारमा परिवर्तनविरोधी संविधान लाद्न खोज्दैछन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै क्रान्तिकारीका नेता दिपेश पुनले काठमाण्डु टुडेसँग भने, ‘परिवर्तनविरोधी बढी नै सल्बलाए भने प्रतिकारमा उत्रनुस् ।’
पुनका अनुसार प्रचण्डले पछिल्लो ९ वर्षयता मुलकु आफूहरुको एजेण्डामा चले पनि संविधानसभामा आकार केही खुम्चिएपछि काँग्रेस–एमालेले आफूहरुलाई हेपेको बताएका थिए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीजस्ता एजेण्डा आफूहरुको भएको र काँग्रेस–एमाले आफूहरुको पछि लागेको दाबी गरे ।
‘जसको एजेण्डामा देश चलिरहेको छ, गणितको दम्भ देखाएर आज उसैलाई हेप्ने र अपमानित गर्ने काम भइरहेको छ’, प्रचण्डले भने, ‘माओवादीहरु लड्ने जात हो, अपमान सहने जात होइन ।’
प्रचण्डले दबाबबिना काँग्रेस–एमाले सहमतिमा संविधान बनाउन तयार नहुने भएपछि २५ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको बताएका थिए । भेटमा एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई पनि थिए ।