
चितवन, ८ पुस–चितवनका यातायात व्यवसायीको रुट विवादका कारण यहाँका विभिन्न क्षेत्रमा चल्ने स्थानीय सवारीसाधन एक सातादेखि चल्न सकेका छैनन् ।
सातवटा यातायात व्यवसायीसँग आबद्ध रहेका सवारीसाधन बन्द हुँदा यात्रुलाई सास्ती भएको छ । सहमति विपरीत चितवन टेम्पु, माइक्रो तथा मिनीबस व्यवसायी समितिले चितवनका विभिन्न क्षेत्रमा गाडी सञ्चालन गरेको भन्दै अन्य व्यवसायी आन्दोलित भएका छन् ।
सहमति विपरीत यातायात मनपरी रुपमा सञ्चालन गरिएको भन्दै जिल्लामा चलिरहेको चितवन यातायात व्यवसायी सङ्घ, चितवन माइक्रो र ओमशान्ति माइक्रो बस व्यवसायी सङ्घलगायत आन्दोलित भएका हुन् ।
यही पुस २ गतेबाट यी व्यवसायी सङ्घसँग आबद्ध सवारी सञ्चालनमा रोक लगाएर चाबी चितवन प्रशासनमा बुझाई आन्दोलन थालिएको व्यवसायी बद्री पौडेलले बताए । मङ्सिरबाट चितवन टेम्पु तथा माइक्रो मिनीबस व्यवसायीले विगतको सहमतिबिना चितवनको भरतपुरबाट रत्ननगर तथा पश्चिमी क्षेत्रमा नयाँ गाडी थपेर नयाँ रुटमा चलाउन थालेको थियो ।
उक्त समितिले भने आन्दोलन गर्ने व्यवसायीले आलोपालो प्रथा गरेकाले यातायात सञ्चालन गर्नु परेको बताएको छ । यसबीचमा भएको दुई–तीनपटकको वार्तासमेत सहमतिमा आउन सकेको छैन । अहिले सावारी केन्द्रीय बस टर्मिनलमा नै थन्किएर बसेका छन् । व्यवसायी विवादका कारण विद्यार्थी हिँडेरै कलेज जानुपर्ने बाध्यता भएको छ भने अत्यावश्यक कामका लागि जानुपर्ने यात्रु मारमा परेका छन् । रासस