काठमाण्डु, ८ पुस– एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन घोषणाको तयारी गरिरहेका बेला सत्तारुढ काँग्रेस–एमालेले दलहरुबीच अवरुद्ध संवाद प्रक्रिया पुन: सुचारु गर्ने भएका छन् ।
काँग्रेस–एमालेले आज एमाओवादी र मधेसी मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दैछन् ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको दुई दल बैठकले हतारिएर आन्दोलन घोषणा गरेको निष्कर्षसहित एमाओवादी र मधेस केन्द्रित दलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको थियो ।
दुई दलले आफूहरु पूर्वअडानमा लचकता अपनाउन तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रहसमेत गरेको छ ।
यसअघि शनिबार बसेको प्रमुख तीन दल बैठकमा एमाले अध्यक्ष केपी ओलीले सहमति गर्ने भए मोर्चा विघटन गर्न भनेपछि एमाओवादी शीर्ष नेता बैठक छाडेर बाहिरिएका थिए ।
लगत्तै आइतबार बसेको मोर्चा बैठकले काँग्रेस–एमाले गणितीय बलमा पेलेरै संविधान बनाउने खेलमा लागेको भन्दै आन्दोलनमा जाने निर्णय लिएको थियो ।