
इलाम, ८ पुस– जिल्लाका पाँच गाविसमा गठित सामुदायिक मेलमिलाप समितिले पाँच महिनाको अवधिमा ६७ वटा विवाद समाधान गरेका छन् ।
मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालले सामुदायिक मेलमिलाप परियोजनाअन्तर्गत इलामका सिद्धिथुम्का, लक्ष्मीपुर, शान्तिपुर, एकतप्पा र शान्तिडाँडा गाविसमा गठन गरेको सामुदायिक मेलमिलाप समितिमा परेका मुद्दामध्ये पाँच महिनामा ६७ समाधान गरेका हुन् ।
समितिमा ७९ दर्ता भएकामध्ये ६७ वटा कानुनी तरिकाले समाधान भएको, पाँच वटा गाउँमा मिल्न नसकेपछि सम्बन्धित निकायमा सिफारिस गरिएको र सात वटा मिल्ने प्रक्रियामा रहेको मेलमिलाप परियोजनाका सहजकर्ता अमर देवानले बताए । गाउँमा उत्पन्न विवादलाई गाउँमै समाधान गरियो भने जिल्लामा पर्ने मुद्दा मामिलामा कमी आई न्याय सम्पादनमा सहयोग पुग्न थालेको देवानको भनाइ छ ।
समितिमा घरेलु हिंसा, जग्गा, गाली बेइज्जती, लेनदेन, कुटपिटलगायतका विभिन्न प्रकृतिका विवाद पर्ने गरेका छन् । विवाद समाधान गरिएपछि कुनै पनि विवाद नउल्टिएको र पुनः मिलाउनुपर्ने स्थिति सिर्जना नभएको परियोजनाले जनाएको छ ।
समितिमा जग्गासम्बन्धी विवाद मिलाउन जग्गा नापजाँचका लागि अमिनको आवश्यक परेमा सामुदायिक मेलमिलाप परियोजनाले अमिन उपलब्ध गराउँदै आएको छ ।