सेनाले जग्गा फिर्ता नगर्दा अनुसन्धान र उत्पादनमा समस्या

काठमाण्डु टुडे २०७१ पुष ८ गते ३:०२ मा प्रकाशित

सुर्खेत, ८ पुस– सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को जग्गा माओवादी सैनिक शिविरपछि नेपाली सेनाले अझै फिर्ता गरेको छैन । जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान कार्यक्रमसमेत प्रभावित भएको नार्कले जनाएको छ ।

नार्कको जग्गा २०६३ देखि २०६८ सालसम्म लगातार माओवादी छैटौँ डिभिजन जनमुक्ति सेनाको शिविर व्यवस्थापनमा प्रयोग हुँदै आएको र पछि नेपाली सेनामा लडाकु समायोजन भइसकेपछि हालसम्म सेनाले नै उक्त जग्गा भोगचलन गर्दा समस्या उत्पन्न भएको हो ।

मध्य र सुदूरपश्चिमको कृषि विकासका लागि अनुसन्धान केन्द्रका रुपमा रहेको नार्कको जग्गा यसअघि द्वन्द्वकालमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र माओवादीहरुले प्रयोग गर्दै आइरहेका थिए । नार्कको जम्मा ३८.५ हेक्टर जग्गामध्ये १५ हेक्टर जमिन हाल नेपाली सेनाले भोगचलन गरिरहेको छ ।

नार्कको जग्गामा अहिले स्थानीय बासिन्दा र सेनाले ब्याटमिन्टन, फुटबल मैदान बनाउँदा जग्गा अभावमा बीउको अनुसन्धान र उत्पादन गर्न समस्या भएको केन्द्रका प्रमुख डा ताराबहादुर घिमिरेले बताए ।

‘केन्द्रले आफ्नो सम्पूर्ण जग्गा उपभोग गर्दा करिब ३ सय ४० क्विन्टल उत्पादन हुने गरेको बीउ हाल १ सय २० क्विन्टल मात्र उत्पादन भइरहेको छ’, घिमिरेले भने, ‘समायोजन तथा स्वैच्छिक अवकाश रोजेका माओवादी लडाकु शिविर खाली गरेर गए पनि जग्गा फिर्ता नहँुदा काम प्रभावित भएको छ ।’

उनले अहिलेसम्म पनि जग्गा फिर्ता नगर्दा कृषि अनुसन्धानमा नकारात्मक असर परेको भन्दै कृषिको विकासमा मेरुदण्ड मानिने अनुसन्धानलाई सरकारले नै बेवास्ता गरेको गुनासो गरे ।

नार्कले मध्यपश्चिमका सुर्खेत, दाङ, बाँके, बर्दिया, सल्यान, जाजरकोट, दैलेखलगायतका जिल्लामा बीउबिजन अनुसन्धान र निर्यात गर्दै आए पनि जग्गा अभावले झन् समस्या थपिएको घिमिरेको भनाइ छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us