
मोरङ, ८ पुस– पूर्वक्षेत्रीय प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षक हेमराज ओलीलाई मंसिरको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय अनुसन्धान समूहमा कार्यरत ओलीलाई आपराधिक घटना नियन्त्रणमा मंसिरमा उत्कृष्ट कार्य गरेको भन्दै कार्यालयले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
गत असोज २९ गते झापाको दमक र कात्तिक २२ गते बिर्तामोडमा भएको दुई ठूला चोरीमा संलग्नलाई पछ््याएर पश्चिम पोखराबाट पक्राउ, इप्रका पथरी मोरङमा बम विस्फोट गराउने १० जनालाई पक्राउ र सप्तरीको पन्सेराबाट अपहरणमा परेका सिरहा लहानका गुरुदयाल महतोलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न नाइकेलाई समेत पक्राउ गर्न उनी सफल भएको कार्यालयले जनाएको छ ।
कार्यालयले २०७० फागुनदेखि हरेक महिना राम्रो कामको मूल्यांकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ । उत्कृष्ट घोषित भएका प्रहरीको फोटो र कार्यविवरण विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयको प्रांगणमा निर्माण गरिएको ‘मोन्थ अफ दी पुलिस’ स्तम्भमा महिनाभर प्रकाशन गर्ने गरिएको छ ।