
नुवाकोट, ७ मंसिर– १४ यात्रुको ज्यान जाने गरी गत कात्तिक पहिलो साता नुवाकोटको बेलकोटमा भएको दुर्घटना भएको यात्रुबसका चालकले ‘गाडी साहु’ लाई मार्ने उद्देश्यले आफूले दुर्घटना गराएको बयान दिएका छन् ।
जिल्ला अदालतको आदेशमा कारागार शाखा नुवाकोटमा रहेका चालक जिल्लाकै मदानपुर–९ का ४० वर्षीय आइतसिंह तामाङले त्यस्तो बयान दिएको पत्रकार ध्रुवकुमार रावलले प्रहरीलाई उद्धृत गर्दै काठमाण्डु टुडेलाई जानकारी दिए ।
काठमाण्डुबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको बा २ ख २२६६ नम्बरको बस पासाङ ल्हामु मार्गको काठमाण्डु–त्रिशूली खण्डस्थित नुवाकोटको बेलकोट गाविस अरकोटे भीरबाट तिहारको पूर्वसन्ध्यामा गत कात्तिक ७ गते दुर्घटना भएको थियो ।
दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए । रावलका अनुसार चालक तामाङले बस धनी कविन्द्र श्रेष्ठसँग विवाद भएपछि उनको हत्या गर्ने उद्देश्यले गाडी भीरबाट खसालेको बताएका छन् ।
तलब र गाडी मर्मतका विषयमा विवाद भएको उनले बताएका छन् । उनले आफूले अनुसार पट्टा भाँच्चिएको गाडी मर्मत गरेर मात्र यात्रु चढाउनुपर्ने बताउँदा श्रेष्ठले हप्काएकाले रिस उठेको उल्लेख गरेका छन् ।
तर दुर्घटनामा गाडी धनी श्रेष्ठ र उनकी श्रीमती गम्भीर घाइते भएका थिए भने उनीहरुकी छोरी १२ वर्षीया करिना श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो ।
यसैबीच चालक तामाङको सवारी चालक अनुमतिपत्र नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।