
काठमाण्डु, ७ पुस– एमाले उपाध्यक्ष भीम रावलले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईले प्रमुख तीन दलको शनिबार साँझ बालुवाटारमा बसेको बैठकमा रौद्र रुप देखाएको आरोप लगाएका छन् ।
नेपाल उद्योगा बाणिज्य महासंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा रावलले प्रचण्ड र बाबुरामले बालुवाटारमा ठरलाग्दो रुप देखाएको बताएका हुन् ।
रावलले आफ्ना अध्यक्ष केपी ओलीले सहमति गर्ने भए आन्दोलनको मोर्चा विघटन गर्न आग्रह गरेलगत्तै प्रचण्ड र बाबुराम उत्तेजित भएको उल्लेख गरे ।
रावलले उनीहरु रिसाएर बैठकबाट उठेपछि त्यहाँ रहेका काँग्रेस–एमाले नेता कसैले पनि बस्न आग्रह गर्न नसकेको बताए ।
उनले आफूले बस्नुस भन्नै लागेको भए पनि हप्काउन सक्ने डरका कारण केही नबोलेको जनाए । ‘प्रचण्ड र बाबुरामले बालुवाटारमा रौद्र रुप देखाए’, रावलले भने, ‘कसैले पनि रोक्न खोजेनन्, मैले बस्नुस् भन्न खोजेको थिएँ, झपार्लान् भन्ने डरले मुख खोल्न सकिन ।’
तर रावलले सहमति प्रयास छाडेर सडकबाटै संविधान जारी गर्ने एमाओवादी मोर्चाको धम्कीबाट आफूहरु नडराउने जिकिर गरे ।