काठमाण्डु, ७ पुस– बालबालिकालाई यौन शोषणबाट मुक्त गर्न घरघरमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ ।
बालबालिकाको हकहितका क्षेत्रमा विगत वर्षदेखि काम गर्दै आएको संस्था तेर दे जोम फाउन्डेसनद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका नेपाल प्रतिनिधि जसोन स्वायेरले यहाँका बालबालिकामाथि यौन शोषण बढी हुने गरेकाले त्यसतर्फ सबै सचेत हुनु जरुरी रहेको बताए ।
उनले यौन व्यवसायमा लागेका बालबालिकालाई सम्मानजनकरुपमा पेसाबाट अलग गराउन सबैको सहयोग आवश्यक रहेको पनि बताए ।
फाउन्डेसनले यस क्षेत्रमा हालसम्म एक हजार ८९४ बालबालिकालाई व्यावसायिक यौन शोषणबाट छुटाएर सामान्य अवस्थामा फर्काएको सो अवसरमा जानकारी दिइयो ।
फाउन्डेसनका नवजित कर्माचार्यले क्याविन रेस्टुरेंन्ट, डान्स रेस्टुरेंन्ट, खाजा घर, मनोरन्जनलगायतका क्षेत्रमा बालबालिका असुरक्षित रहेको उल्लेख गर्दै बालबालिकालाई सबै किसिमबाट सुरक्षित गर्न सरकार, प्रहरी, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र परिवार नै लाग्नुपर्नेमा जोड दिए ।
रासस