काठमाण्डु, ७ पुस– राष्ट्रिय मानवअधिकार आयोगले छोराका हत्यारामाथि कारबाहीको माग गर्दै अनसन बसेकै बेला तीन महिनाअघि वीर अस्पतालमा निधन भएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको तत्काल अन्त्येष्टि र काजक्रिया गर्ने वातावरण बनाउन निर्देशन दिएको छ ।
विज्ञप्तिमा अन्तरिम संविधान–२०६३ को धारा २३ को धर्मसम्बन्धी हक र ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ को धारा २७ मा उल्लिखित धार्मिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रावधानअनुरूप अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारका लागि आवश्यक वातावरण बनाउन सरकारलाई निर्देशन दिइएको छ ।
छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाही माग गर्दै अनसन बसेका अधिकारीको गत असोज ६ गते निधन भएको थियो । तर छोरा नुरप्रसादको असहमतिका कारण उनको अझै अन्त्येष्टि हुन सकेको छैन ।
आयोगले सरकारले गत असोज ३१ मा अनसनमै रहेकी अधिकारी पत्नी गंगामायासँग पतिको दाहसंस्कार गर्ने र हत्यामा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेसहित पाँच बुँदे लिखित प्रतिबद्धता जनाएकामा त्यसको कार्यान्वन नभएको स्मरण गराएको छ ।