
पाल्पा, ७ पुस– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सार्वजनिक यातायातमा सिण्डकेट लगाउने व्यापारीलाई पक्राउ गरेर थुन्न निर्देशन दिएका छन् ।
पाल्पाको रामपुरमा एक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभामा बोल्दै उनले यातायातमा विद्यमान सिन्डिकेट खारेज गरेरै छाड्ने अठोट व्यक्त गरे ।
सिण्डिकेट हटाउने क्रममा अवरोध गर्न आउनेलाई नछाड्न उनको सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए । गौतमले यातायात क्षेत्रमा देखिएको सिन्डिकेट खारेज गरेरै छाड्ने दाबी गरे ।
‘सिन्डिकेट लाद्न खोज्नेलाई समातेर थुन्नुस्’, गौतमले भने, ‘त्यसबाट आउने परिस्थितिको सामना गर्न सरकार तयार छ ।’ उनले आफ्नो निर्देशन कार्यान्वयन नभए जनतास“ग बुझेर निर्देशन कार्यान्वयन नगर्नेमाथि नै कारबाही गर्ने चेतावनी दिए ।