
सर्लाही, ७ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी संविधानसभाबाट संविधान जारी गर्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
एमाले सर्लाहीको सातौं जिल्ला अधिवेशन गर्न आएका ओलीले सोमबार हरिवनमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीको अनावश्यक हठका कारण संविधान निर्माणमा अड्चन आएको बताए ।
एमाओवादी संविधान बन्न नदिने मनसायका साथ मोर्चाबन्दीमा लागेको उनको आरोप थियो । ओलीले भूगोल र जातका नाममा मुलुकमा विभाजनको बिउ रोप्न नदिइने प्रष्ट्याए ।
ओलीले आफूहरु बलभद्र कुँवर र अमरसिंह थापा अहिले जीवित नभएको भन्दै उक्त जिम्मेवारी आफूहरुको काँधमा आएको जिकिर गरे । ओलीले सहमति नभए बहुमतीय अ आधारमा संविधान निर्माण गरिने भन्दै रगतको खोला बगाउने धम्की नदिन चेतावनी दिए ।
उनले प्रचण्डले सहमतिमा संविधान निर्माण गरौंभन्दा कमिलाले चिलेजसरी उफ्रिएको टिप्पणी गरे ।
‘कुनै हालतमा जाति र भूगोलका आधारमा राज्य बनाउने पक्षमा छैनौं’, ओलीले भने, ‘अहिले बलभद्र र अमरसिंह थापा छैनन्, उनीहरुको काम हामीले गर्नुपरेको छ ।’
ओलीले आफूहरुको पक्षमा संविधानसभामा ८० प्रतिशत रहेको भन्दै संसारमा कहीं पनि शतप्रतिशत सहमतिमा संविधान जारी नभएको जिकिर गरे ।