तेह्र वर्षमा निर्माण भएको पुल उद्घाटन गरे मन्त्री निधिले

काठमाण्डु टुडे २०७१ पुष ७ गते १३:०२ मा प्रकाशित

ओखलढुङगा, ७ पुस– पहाडी जिल्ला ओखलढुङ्गामा सिलन्यास भएको १३ वर्षपछि पुल निर्माण सम्पन्न भएको छ ।

उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सनुकोसी नदीमा पक्की पुल निर्माण भएपछि ओखलढुङ्गा राजधानीसँगको सडक सञ्जालमा जोडिएको छ ।

पुलको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले उद्घाटन गर्दै सिन्धुली, उदयुपर, खोटाङ, सोलुखुम्वु र ओखलढुङ्गाका हजारौं मानिसको जीवनस्तरमा परिवर्तन आउने बताए ।

मन्त्री निधिले पुल निर्माणबाट मध्यपहाडी, हिमाली र तराई क्षेत्रका समुदायको पेसा व्यवसायमा योगदान पुग्नुको साथै यस क्षेत्रको पर्यटन, जलस्रोत र कृषिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कुल २० करोड ४३ लाखको लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको सो पुलको शिलान्यास २०५९ साल असारमा भएको थियो ।

नेपाली लगानीमा निर्माण भएको सो पुलले हिमाल, पहाड र तराई क्षेत्रलाई जोड्नुको साथै सर्र्वोच्च शिखर सगरमाथा जाने क्षेत्रको द्वारको रुपमा सहज हुनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us