
काठमाण्डु ७ पुस–सांसदहरुले मुलुकमा निर्माणाधीन ठूला आयोजना असफलता र ढिलासुस्ती एवम् बजेटमा वृद्धिको मुख्य कारण आयोजना छनौटमै कमजोरी रहेको औँल्याएका छन् ।
व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिको समन्वयमा कृषि तथा जलस्रोत समिति र अर्थ समितिको आज सिंहदरबारमा भएको संयुक्त बैठकमा सांसदहरुले विकास आयोजना निर्धारित समयअनुसार कार्यान्वयन नहुनुको कारण आयोजनाको छनौटमा नै कमजोरी हुने गरेको बताए ।
साधारण बजेटको तुलनामा विकास बजेट बढ्न नसकेको र निर्माणाधीन आयोजनामा अनियमितता बढेको गुनासो गर्दै सांसदहरुले मन्त्रालयबीच समन्वय नहुँदा आयोजना निर्माणमा थप ढिलाइ हुने गरेको वास्तविकतातर्फ सरकारको ध्यानाकर्षण गराए ।
निर्माणाधीन आयोजनाको अनुगमन फितलो भएको र गाउँ तथा जिल्लाका प्रमुखहरु सदरमुकाम तथा राजधानी केन्द्रित हँुदा आयोजना निर्माणमा ढिलासुस्ती र अनियमितता बढेको सांसदहरुको गुनासो थियो ।
बैठकमा सांसदहरु शङ्कर भण्डारी, कमला पन्त, शक्ति बस्नेत, रेखा शाह, सीतादेवी यादव, गोपाल दहित, चन्द्र भण्डारी, सीता गिरी, किरण यादव, काशीनाथ अधिकारी, रेवती भण्डारीलगायतले विकास बजेटको खर्च र विकास निर्माणका काममा देखिएका समस्याका बारेमा बोलेका थिए ।
तीनवटा संसदीय समितिको संयुक्त बैठकमा समितिका प्रमुखहरु रवीन्द्र अधिकारी, गगन थापा र प्रकाश ज्वालाले समितिका कामकारबाहीका बारेमा प्रकाश पार्दै समितिबीचको समन्वयले चालु आर्थिक वर्षको समग्र विकास बजेट खर्चको अवस्था, समस्या तथा लक्ष्य प्राप्तिका लागि अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा सुझाव दिएका थिए । रासस