१४ जनाको ज्यान लिने नक्कली ड्राइभर थुनिए

काठमाण्डु टुडे २०७१ पुष ७ गते ९:३५ मा प्रकाशित

काठमाण्डु, ७ पुस– नक्कली ड्राइभिङ लाइसेन्स लिएर गाडी हाँक्ने व्यक्ति थुनामा परेका छन् । नुवाकोटका आइतराम तामाङले चलाएको बस बेलकोट ४ आरुबोट भिरमा कात्तिक ७ गते खसेको थियो । तामाङलाई जिल्ला अदालत नुवाकोटले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

Driver Sketch
दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६० भन्दा बढि यात्रु घाईते भएका थिए । अहिले पनि दुईजना अस्पतालमा उपचाररत छन् ।
गाडीले दुर्घटनाको संकेत गरेपछि यात्रुले चालक आईतराम तामाङलाई बिस्तारै हाक्न आग्रह गरे । एक बिहानै गाडी धनी कबिन्द्रमान श्रेष्ठसँग झगडा भयो । गाडी धनीसँग बस पल्टाइदिने धम्की दिएका चालकले रिसको आबेगमा राजधानीबाट गाडी हाके । क्षमताभन्दा बढी यात्रु बोकेर रसुवाको स्याफ्रुवेशीका लागि छुटेको गाडी बेलकोटमा पुग्दा नपुग्दै दुर्घटना भयो ।
‘चालकले बस छेउ चेप्दै लगेपछि हामीले ओर्लेन्छौ भन्यौ,’ घाइते रसुवाका श्याम तामाङले भने, ‘हाम्रो अनुनय विनय पनि सुनेन । रोक्नुस भन्दा भन्दै एकै छिनमा भिरबाट बस खसाले । गाडीका मालिक आफैले पनि बसमा क्षमता भन्दा बढि यात्रु नहाल्न आग्रह गर्नुको साटो राजधानीबाटै खचाखच मान्छे हाल्न चालकलाई उक्साउदै थिए । राजधानी देखि नै खचाखच ३५ सिटे गाडीमा ९० भन्दा बढि यात्रु छत र तल गरेर थिए, यात्रु तामाङले भने, गाडी घ्यारघ्यार गर्ने बित्तिकै हामी ओर्लन्छौ भन्दा पनि चालकले गाडी हुईकाउँदा गाडी दुर्घटना भयो ।’
साहुको रिसको आबेगमा बस दुर्घटना गराएर यात्रुको ज्यान लिने चालकलाई गत साता मात्र जिल्ला अदालत नुवाकोटले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटले लिएको बयानमा नुवाकोट मदानपुर ९ का चालक ४० वर्षीय आइतरामले बस धनी नुवाकोट बेत्रावतीका कबिन्द्रमान श्रेष्ठसँगको झगडापछि बस दुर्घटना गराएको बयान दिएपछि सोही बयानका आधारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
प्रहरीको अनुसन्धानको क्रममा चालक तामाङले प्रयोग गरेको सबारी लाईसेन्स पनि अरुकै नाममा दर्ता भएको पाईएको छ ।
‘सबारी दुर्घटना लगतै चालक अनुमति पत्रबारे यातायात व्यवस्था बिभागमा बुझ्दा अरुकै नाममा दर्ता भएकोे पाईयो, प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले भने, ‘चालकलाई सरकारी छाप किर्ते गरेको अभियोगमा मुद्धा दर्ता अगाडी बढाएका छौ ।
चालकले बयानमा गाडी साहुँ सँगको रिसिबीका ज्यान लिने उद्धेश्यले बस खसालिएको बुझिएपछि सबारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१ को १ बमोजिम अदालत समक्ष पेश गरिएको जिल्ला सरकारी वकिल तथा न्यायधिवक्ता अच्युत कुईकेलले बताए ।
क्षमता भन्दा तेब्बर यात्रु बोकेर राजधानीबाट छुटेको बसमा तीन विदेशी नागरिक सहित १४ जनाको ज्यान गएको थियो । दुर्घटनामा गाडीधनी कबिन्द्रमान श्रेष्ठको छोरीको पनि ज्यान गएको थियो भने श्रेष्ठ दम्पती घाइते छन् । दुर्घटनामा परेर रसुवा सरमथलीको एकै परिवारका दुई दिदीबहिनी, काठमाण्डु मनमैजुका आमा छोरा, सिन्धुपाल्चोक, ओखलढु्ङ्गा लगायतका ठाउँका स्थानीय दुर्घटनामा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us