
काठमाण्डु, ६ पुस– सत्तापक्षीय दल निकट विद्यार्थी संगठनहरु पनि सोमबार सरकारकै विरोधमा देखिए । प्रतिपक्षी विद्यार्थी संगठनहरुसँग बागबजारमा सोमबार बसेको संयुक्त बैठकमा सरकारले पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार अनुरुप समायोजन नगरेको भन्दै सरकारमा सहभागी दल निकट विद्यार्थी संगठन पनि सरकारको विरोधमा उत्रेका हुन् ।
संयुक्त विद्यार्थी बैठकले सार्वजनिक यातायातको एक प्रतिशत भाडा घटाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको समेत विरोध गरेको छ ।
‘विश्व बजारमा तेलको मुल्य निकै घटिसकेको अवस्थामा नेपालमा त्यसअनुरुप मूल्य समायोजन गरिएको छैन, यो जनताको ढाड सेक्ने काम बाहेक केही होइन’, बैठक पछि काठमाण्डुको ल क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले भने ।
उनीहरुले सरकारले सवारी साधनको एक प्रतिशतमात्र शुल्क घटाउन लागेकोमा पनि विरोध गरे । काठमाण्डु टुडेसँग कुरा गर्दै अनेरास्वियु क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले सरकारले व्यवसायीको दबाबमा यातायातमा भाडा समायोजन नगरेको बताए ।
सेमेष्टर प्रणालीको फारम बितरण रोक्नु पर्ने
यसैबीच विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा पर्याप्त तयारी विना सेमेष्टर प्रणाली लागू गरेको भन्दै त्यसको फारम वितरण तत्काल रोक्न माग समेत गरे ।
‘त्रिभुवन विश्वविद्यालयले विना पुर्वाधार अगाडी बढन खोजेर हुदैन’, मल्लले भने । माग पूरा नभए आउदो ९ गते बैठक बसेर आन्दोलनको तयारी गर्ने विद्यार्थी संगठनले जनाएका छन् ।