
काठमाण्डु, ६ पुस– सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बन्ध विच्छेद गरी नयाँ पार्टी गठन गरेपछि अन्यौलमा फसेको नेकपा–माओवादीले पुस ११ देखि राष्ट्रिय भेलाको तयारी गरेको छ । तर, भेलाका लागि उसले अहिलेसम्म ठाउँ तय गर्न सकेको छैन ।
अढाई वर्षअघि एकीकृत नेकपा माओवादीलाई ‘नवसंशोधनवादी’ भन्दै नयाँ पार्टी गठन गरेको र जनविद्रोहद्वारा जनवादी क्रान्ति गर्ने निर्णय गरेको माओवादीले अढाइ वर्षको फरकमा दोस्रो पटक राष्ट्रिय भेला आयोजना गरेको हो । उक्त पार्टीले अघिल्लो वर्ष राष्ट्रिय महाधिवेशन पनि गरेको थियो ।
मोहन वैद्य ‘किरण’को नेतृत्वमा ‘जनयुद्धको जगमा जनविद्रोह’ गर्ने भन्दै उक्त पार्टीले एमाओवादीसँग सम्बन्ध विच्छेद गरेको थियो ।
चार दिनसम्म राजधानीमा हुने भनिएको राष्ट्रिय भेलामा वर्तमान परिस्थितिको मूल्यांकन, पार्टीको अवस्था तथा भावी रणनीतिबारे छलफल हुने प्रवक्ता पम्फा भुसालले काठमाण्डु टुडेलाई बताइन् । एक महिनाअघि किरण नेतृत्वको माओवादीबाट नेत्रविक्रम चन्द ‘विप्लव’को विभाजनसँगै पार्टीमा आएको संकटको निकास खोज्न भेला हुन लागेको बताइएको छ ।
‘भेला काठमाण्डुमा नै गर्ने निधो भइसकेको छ तर स्थलको टुंगो लागिसकेको छैन्, हामी उपयुक्त स्थल खोज्दै छौ’, माओवादी केन्द्रीय सदस्य रामदिप आचार्यले भने ।
एमाओवादीलाई संशोधनवादी र अकर्मण्यताको शिकार भएको भन्ने माओवादी आफै अकर्मण्यतामा फँसेको विप्लव पक्षको आरोप लगाएको छ ।
जनयुद्धको जगमा जनविद्रोह हुन नसकेपछि अहिले माओवादीले आफ्नो आधिकारिक राजनीतिक लाइनको रक्षाका लागि संविधानसभाको विघटन गर्दै राष्ट्रिय सरकार बनाउने पर्ने बताइरहेको छ ।
भेलामा सहभागी हुन जिल्ला पार्टी कार्यालय प्रमुखहरु, जनवर्गीय संगठन प्रमुख तथा विभागीय प्रमुखहरुसहित प्रवासबाट समेत गरी सात सयभन्दा बढी नेता कार्यकर्ताहरु सहभागी हुँदैछन् ।