
बागलुङ, ७ पुस–जिल्लाको दुर्गम खुङ्गा गाविसमा खानेपानीको अभाव भएपछि यहाँका स्थानीयबासी समस्यामा परेका छन् ।
भएका आयोजना पनि जीर्ण भएपछि खानेपानीका लागि घन्टौँ लगाएर खोला धाउनु पर्ने बाध्यता रहेको छ ।
त्यहाँका छ वडाका बासिन्दा खानेपानीको अभाव झेल्न बाध्य रहेको स्थानीय अगुवा गणेश थापाले जानकारी दिए ।
त्यसमध्ये पनि वडा नं १, २, ३ र ५ मा बढी समस्या रहेको उनले बताए । खुङ्गा गाविसभरि करिब पाँच सय भन्दा बढी घरधुरीमा खानेपानीको समस्या रहेको थापाले उल्लेख गरे ।
वर्षौं पुरानो नेपाने खानेपानी आयोजना पनि जीर्ण बन्दै गएपछि समस्या झन थपिएको हो । नयाँ आयोजना बनाउन स्थानीयवासीले प्रयास गरे पनि मुहान विवाद र लगानी अभावले विफल हुँदै गएको छ ।
खानेपानीको अभाव टार्न आधा घन्टा लगाएर भौला खोला, कमेरेखोला, कुवाखोलालगायतका ठाउँमा पुगि पानी ल्याउने गरेको खुङ्गा २ देउरालीधाराकी जसमती घर्तीले बताए । सरकारीस्तरबाट आयोजना सञ्चालनको लागि कुनै पहलसमेत नभएकोमा घर्तीले गुनासो समेत गरे ।
यसअघि पटकपटक तमान ३ को सेर्माखोलाको मुहानबाट पानी ल्याएर आयोजना बनाउन खोजिए पनि सहमति जुट्न सकेको छैन ।
सिङ्गो गाविस नै खानेपानीको अभावबाट गुज्रिदा पनि कसैले चासो नदेखाएकोमा खुङ्गावासी निराश भएका छन् ।
सदरमुकाममा रहेको सम्बन्धित कार्यालय, निकायले पनि दुर्गम देखेर बेवास्ता गर्ने गरेको स्थानीयवासी बताउँछन् । खानेपानी मात्रै नभएर अन्य आधारभूत आवश्यकताबाट समेत खुङ्गावासी वञ्चित छन् । रासस