पूर्वलडाकुसहित एक दर्जन एमाओवादी नेता विप्लवको पार्टीमा प्रवेश

काठमाण्डु टुडे २०७१ पुष ७ गते ६:०० मा प्रकाशित

दोलखा, ७ पुस– एकीकृत नेकपा माओवादी दोलखाका एक दर्जन जिल्ला नेताहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

biplav
सोमबार एमाओवादीका आठ जना जिल्ला कमिटी सदस्य र चार जना विद्यार्थी नेताले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी एकीकृत नेकपा माओवादीको जिल्ला कमिटीसँग सम्बन्धविच्छेद गरी चन्द नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

एमाओवादी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य एवम् ६ नं इलाका इन्चार्ज प्रेम लामा, जिल्ला सचिवालय सदस्य एवम् माओवादी लडाकुका पूर्व कमान्डर प्रखर लामा, एमाओवादी सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष राजन धनुके, सचिवालय सदस्य एवम् ५ नं इलाका इन्चार्ज अर्जुन योगी छन् ।

यस्तै जिल्ला कमिटी सदस्यहरु छिरिङ लामा, गोपाल खरेल, नवराज अर्याल, जगतराज गणिका, जिल्ला कमिटी सदस्य एवम् वाइसिएल राज्य समिति सदस्य डिबी लामा, जिल्ला कमिटी सदस्य अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रामकुमार खड्का, जिल्ला कमिटी सदस्य आशिष जोशी र सुन्दर केसी छन् ।

उनीहरुले एमाओवादीले १० वर्षे जनयुद्ध, सहिद परिवार र आम कार्यकर्ताको भावना बिर्सेको र वैद्य नेतृत्वको नेकपा–माओवादी क्रान्तिबाट अल्मलिएका कारण आफूहरु चन्द नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेको बताएका छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us