
रसुवा, ७ पुस– उत्तरी रसुवाको चिलिमे गाविसमा निर्माण सुरु भएको सांजेन जलविद्युत् आयोजनाले सुरुङ निर्माण तीव्र रुपले अगाडि बढाएकोे छ ।
आयोजना प्रमुख गिरीराज अधिकारीका अनुसार सांजेन जलविद्युत् आयोजना दुई भागमा निर्माण हुने र सिम्बु गाउँमा निर्माण हुने १४.८ मेगावाट जलविद्युत् आयोजनाका लागि खन्नुपर्ने १ हजार ३ सय ७७ मिटर सुरुङमध्ये २ सय २८ मिटर सुरुङ निर्माण भइसकेको र सुरुङको काम छिटो सम्पन्न गर्न तीन स्थानबाट खन्ने काम भइरहेको छ ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइ र कर्मचारी सञ्चय कोषको ऋणबाट निर्माण अगाडि बढिरहेको सांजेन जलविद्युत् आयोजनाले दुई वटा विद्युत् गृह निर्माण गरी ५७.१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र चिलिमे गाउँनजिक बन्ने ४२ मेगावाट विद्युत्गृहको संरचना बनाउन सतह सम्याउने काम अगाडि बढिसकेको छ ।
यस्तै आयोजनाका कारण प्रभावित १८ घरपरिवारका लागि स्थानान्तरण गर्न आवास निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ । थाम्बुचेतदेखि तिलोचे बगरसम्म सडक निर्माण भइसकेकाले निर्माण सामग्री धमाधम भित्रन थालेबाट निर्माणका सबै काम क्रमशः अगाडि बढ्ने आयोजनाले जनाएको छ ।