
काठमाण्डु, ७ पुस– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरुले अघि बढाएको समाजवादी क्रान्तिको धार र नेत्रविक्रम चन्द ‘विप्लव’ को क्रान्तिकारी धार दुवै ‘परीक्षण प्रतिस्पर्धा’ मा रहेको बताएका छन् ।
उनले विप्लवले लिएको बाटोलाई विभन्न ढंगको तर ‘पुरानो क्रान्तिकारी’ धारको संज्ञा दिएका छन् । नयाँ पत्रिका दैनिकमा सोमबार प्रकाशित ‘परीक्षामा छ पूरै आन्दोलन’ शीर्षकको लेखमा उनले माक्र्सवादलाई गतिशील विज्ञान मान्ने र फरक–फरक धारलाई व्यवहारको प्रयोगशालामा जाँच्न खुला हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले नयाँ धारका साथ अघि बढेका विप्लवप्रति आग्रह राख्नु उपयुक्त नहुने पनि प्रष्ट्याएका छन् । ‘विप्लवले प्रयोग गर्न खोजेको बाटोलाई सुरुमै ठीक/बेठीक भनेर जानुपर्ने आवश्यकता छैन’, भट्टराईले भनेका छन्, ‘किनकी हामीले लिएको बाटो पनि परीक्षणकै क्रममा छ ।’
परिवर्तन, रुपान्तरण र निरन्तर क्रान्तिको मार्गमा दृढ रहेर त्यस अन्तर्गतका विभिन्न बाटामध्ये कुन उपयुक्त भन्ने विषयमा बहस गर्नुलाई अन्यथा बुझ्न नहुने भट्टराईको भनाइ छ ।
‘फरक ढंगको विचार आउनेबित्तिकै निषेध गरेर जाने सोचलाई हामी एकमनावादी भन्छौं’, उनले भनेका छन्, ‘फरक विचारलाई निषेध गरेर जाने सोचले विगतमा निकै ठूलो नोक्सान भयो ।’
भट्टराईले राज्यसत्ताको स्वरुप हिंस्रक रहेसम्म उत्पीडित जनताले त्यसविरुद्ध प्रतिहिंसात्मक कदम चाल्नुलाई गलत भन्न नमिल्ने तर्क गरेका छन् ।
‘जबसम्म राज्यसत्ताको स्वरुप हिंश्रक रहन्छ, तबसम्म उत्पीडित जनताले त्यसविरुद्ध प्रतिहिंसात्मक कदम चाल्नुलाई गलत भन्न मिल्दैन’, भट्टराईले अगाडि लेखेका छन्, ‘वर्गीय सत्ता रहेसम्म शोषित, उत्पीडित जनताले आवश्यक पर्दा प्रतिहिंसाको बाटो लिनुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ ।’
यद्यपि त्यसको प्रयोग कतिबेला कुन ढंगले गर्दा भन्ने कुराको सही हिसाब गर्नुपर्ने उनको भनाइ छ ।
भट्टराईले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र देशभित्रको वर्गीय शक्ति सन्तुलन ख्याल नगरी र वैकल्पिक बाटोको सम्भावना छँदाछँदै गलत समयमा हिंसात्मक बाटो लिँदा बढी प्रत्युत्पादक र नोक्सानदायी हुन सक्ने भन्दै विप्लवलाई परिस्थिति विचार गरेर कदम चाल्न सुझाएका छन् ।