आर्थिक अभावमा चार वर्षदेखि खोरमा थुनिएकी युवतीको उपचार हुँदै

काठमाण्डु टुडे २०७१ पुष ७ गते २:४८ मा प्रकाशित

इलाम, ७ पुस– उपचार खर्चको अभावमा खोरमा थुनिएर बसेकी इलाम दानाबारी–९, सधुवाकी २६ वर्षीया अम्बिका गिरीको उपचार सुरु गरिएको छ । आर्थिक अभावमा उपचार गराउन नसक्दा चार वर्षदेखि उनी खोरमा थुनिएर बस्न परेको थियो ।

उनको यो अवस्थाका बारेमा विभिन्न माध्यमबाट समचार प्रकाशनपछि नागरिक अगुवा तथा समाजसेवी धर्म गौतम, जिल्ला अस्पतालका चिकित्सक रवि शाह, सञ्चारकर्मीसहितको टोलीले उनलाई सदरमुकाम ल्याएर उपचार गराउन थालिएको हो  । गिरीलाई पुस ४ गते जिल्ला स्वास्थ्य कार्यालयको वार्डमा ल्याएर चिकित्सकको निरन्तर निगरानीमा उपचार सुरु गरिएको छ ।

घरमा केही खान नमान्ने उनलाई अहिले फकाएर खुवाउन र त्यहीँ खानेकुरामा औषधि मिसाएर दिन थालिएको छ । गिरीको उपचारका लागि गौतमको अगुवाइमा विभिन्न संघसंस्था, व्यापारी, उद्योगीसँग आर्थिक सहयोग संकलन गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले अहिले गिरीको प्राथमिक उपचार गरिरहेको छ । मानसिक रोगले पीडित बनेकी उनलाई परिवारले आर्थिक अभावमा उपचार गराउन नसकेर खोरमा थुनेर राखेका थिए । ‘पहिले रातभरि रुने, कराउने र अश्लील बोल्ने गर्थिन्, अहिले भने केही सुधार आएको छ’, आमा देउरुपाले भनिन् ।

गिरीको जिल्ला अस्पतालमा नै उपचार गर्न सकिने चिकित्सक रवि शाहले बताए । ‘उनको उपचार जिल्लामै सम्भव छ, उनलाई निरन्तर एक महिनासम्म राखेर उपचार गरेपछि केही सुधार आउँछ’, शाहले भने, ‘उपचार हुँदैन र निको हुँदैन कि भनेर डराउनु पर्दैन् ।’
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us