अभिभावकले विद्यालय नपठाउँदा मुसहर बालबालिका शिक्षाबाट वञ्चित

काठमाण्डु टुडे २०७१ पुष ७ गते २:२४ मा प्रकाशित

पर्सा, ७ पुस – पर्साको ग्रामीण भेगमा रहेको मुसहर बस्तीका बालबालिका शिक्षाको पहुँचभन्दा अझै पनि बाहिर रहेका छन् । उनीहरु आफ्ना अभिभावकले विद्यालय नपठाएका कारण शिक्षाबाट वञ्चित हुनपरेको हो ।

जिल्लाको सेढवा, महादेवपट्टी, पटेर्वासुगौली, जगरनाथरपुर, बिजबनियालगायतका गाविसमा रहेको दलित समुदाय मुसहरका बालबालिका शिक्षाको पहुँचबाट अझै पनि बाहिर रहेका छन् ।

सरस्वती निमावि शैकरशरैयाका शिक्षक रामदेवप्रसाद थारूले विद्यालयमा मुसहर जातका बालबालिकाको उपस्थिति एकदमै न्युन हुने गरेको र अभिभावकले नै जानीजानी विद्यालयमा विद्यार्थीलाई नपठाएको जानकारी दिए । सेढवाका स्थानीय मुसहर अगुवा शिवनाथ माझी मुसहरले आफ्नो बालबालिकालाई विद्यालयमा पठाउनुभन्दा पनि काम सिकाउनु महत्त्वपूर्ण हुने भएका कारणले विद्यालय नपठाएको बताए ।

जिल्ला शिक्षा कार्यालय पर्साका अनुसार जिल्लामा अझै पनि ४४ प्रतिशत बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन् । जिल्ला शिक्षा अधिकारी बरखु रजकले सबै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको र दलित बस्तीमा अझै विशेष भर्ना अभियान सञ्चालन गर्दै आइरहेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us