किन अकस्मात बन्द भयो दरबारमार्गको नाङ्लो रेष्टुरेन्ट ?

काठमाण्डु टुडे २०७१ पुष ६ गते १५:५३ मा प्रकाशित

nangloकाठमाण्डु, ६ पुस– ३८ वर्षदेखि सञ्चालित काठमाण्डुको दरबारमार्गस्थित नाङ्लो बेकरी क्याफे तथा रेष्टुरेन्ट बन्द भएको छ ।

व्यवस्थापन पक्षले शनिबार सूचना टाँसेर आचनक रेष्टुरेन्ट बन्दको घोषणा गरेको हो । विज्ञप्तिमा रेष्टुरेन्ट बन्द गर्नुको कारण खुलाइएको छैन । यद्यपि दरबारमार्गमै छिट्टै नयाँ सेवा दिने सूचनामा उल्लेख छ ।

टार्नै नसक्ने अप्ठेरो परिस्थिति आइलागेको भन्दै रेष्टुरेन्ट बन्द गर्नुपरेकामा ग्राहकसँग क्षमा मागिएको छ ।

‘तत्कालका लागि सेवा दिन नसकेकामा हामी हाम्रा ग्राहक महानुभावहरुसँग क्षमा चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अगाडि टार्नै नसकिने बाध्यात्मक परिस्थिति आएको कुरा जानकारी होस् ।’ विज्ञप्तिमा नाङ्लो रेष्टुरेन्टले नेपालमा खानामा नयाँ ‘ट्रेन्ड’ बसाल्न कोसिस गरेको पनि उल्लेख छ ।

हालसम्म रेष्टुरेन्ट सञ्चालनमा सहयोग पुर्‍याउने कर्मचारी, ग्राहक, बैंकलगायतलाई धन्यावाद दिइएको छ । रेष्टुरेन्ट बन्द हुन लागेको विषयमा व्यवस्थापनले कर्मचारीलाई समेत पूर्वजानकारी नदिएको बताइएको छ ।
तुलनात्मक रुपमा महंगो तर अन्तर्राष्ट्रिय मापदण्डको उक्त रेष्टुरेन्टका ग्राहक उच्च वर्गीय नेपाली र विदेशीहरु थिए । नाङ्लोभित्र नाङ्लो पब, नाङलो बेकरी तथा नाङ्लो चाइनिज रेष्टुरेन्ट सञ्चालनमा थिए ।
व्यवस्थापनले अचानक रेष्टुरेन्ट बन्द गरेपछि त्यहाँ कार्यरत करिब ७५ जना कर्मचारीको जागिर खोसिएको छ । शनिबार पिकनिक खान गएका कर्मचारीलाई टेलिफोन गरी आइतबारबाट रेष्टुरेन्ट बन्द हुने भएकाले काममा नआउन भनिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us