
चितवन, ६ पुस– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी धरौटीमा रिहा भएका छन् ।
उनलाई चितवन जिल्ला अदालतले २७ हजार धरौटी लिएर आइतबार रिहा गरेको हो । फरार सूचीमा रहेका अधिकारीलाई चितवन प्रहरीले शनिबार काठमाण्डुको बालाजुबाट पक्राउ गरेको छ ।
हत्या आरोपमा संलग्न रहेको आरोप लागेका रुद्र आचार्य भने फरार रहेको र खोजी जारी रहेको चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
हत्या आरोपी छविलाल पौडेल, भीमसेन पौडेल, अजिव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारीसहित १० जना यसअघि नै रिहा भइसकेका छन् । उनीहरुमध्ये केही धरौटीमा छुटेका थिए भने केहीलाई प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।
चितवनको रत्ननगरमा आफन्तलाई भेट्न जाने क्रममा २०६१ साल जेठ २४ गते अधिकारीको हत्या भएको थियो ।