लाजिम्पाटमा सिटौलासँग कसरी झोक्किए प्रचण्ड ?

काठमाण्डु टुडे २०७१ पुष ६ गते १५:०६ मा प्रकाशित

prachanda-krishna sitaulaकाठमाण्डु, ६ पुस– काँग्रेस महामन्त्री कृष्ण सिटौलाले आइतबार साँझ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा प्रचण्ड भेट्न सिटौला लाजिम्पाटस्थित उनको निवास पुगेका हुन् ।

स्रोतका अनुसार सिटौलाले प्रचण्डलाई सहमतिको सम्भावना अझै बाँकी रहेको भन्दै दलीय छलफल र वार्ताको प्रक्रियाबाट बाहिर नजान आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान तथा विभिन्न समयमा भएका मधेस, जनजाति, महिला, मुस्लिम र अल्पसंख्यक समुदायको आन्दोलन व्यवस्थापनका क्रमामा राज्यसँग भएका सहमतिको भावनाविपरीत संविधान बनाउने दिशामा सत्तारुढ दल अघि बढेको भन्दै आपत्ति जनाएका थिए ।

उनले पूर्वसहमति र प्रतिबद्धताविपरीत गणितको बलमा संविधान जारी गर्न खोजिए मुलुक दुर्घटनामा जाने भन्दै समय छँदै सचेत हुन सिटौलालाई आग्रह गरेका थिए ।

उनले १२ बुँदे यताका हरेक सहमतिमा सिटौलाको संलग्नता रहेको भन्दै ती सम्झौता र प्रतिबद्धता स्मरण गर्न आग्रह गरेका थिए ।
त्यस क्रममा प्रचण्डले शनिबार बालुवाटारमा बसेको प्रमुख तीन दल बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले देखाएको रबैयाले आफूहरु गम्भीर रहेको बताएका थिए ।

प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले सहमतिमा संविधान बनाउनका लागि सत्तारुढ दलले फराकिलो छाती बनाउन सुझाव दिएका छन् । ‘पेलैर जाने हो कि सहमति गर्ने हो बल तपाइँहरुको कोर्टमा छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘सहमति गर्ने वा पेलेर जानेबारेमा तत्काल निर्णय गर्नुस् ।’
जवाफमा महामन्त्री सिटौलाले सहमतिको विकल्प नभएकामा आफूहरु प्रतिबद्ध रहेको, वार्ता र सम्वादबाटै विवादित विषयमा सहमति खोज्नुपर्नेमा कटिबद्ध रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us