
काठमाण्डु, ६ पुस–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।
१९ दलीय गठबन्धनका तर्फबाट सहमतिमै संविधान जारी गर्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले ओलीका कारण दलीय सहमतिको सम्भावना समाप्त भएको आरोप लगाए ।
उनले शनिबार बालुवाटारमा बसेको प्रमुख तीन दल बैठकमा ओलीले सहमति भाँड्ने गरी उत्तेजित अभिव्यक्ति दिएको टिप्पणी गरे ।
‘शनिबारको बैठकमा सहमति हुने विश्वासमा हामी थियौं’, प्रचण्डले भने, ‘ ओलीजीले पहिचानको कुरा गर्न पाइँदैन भनेपछि उहाँकै कारण सहमतिको वातावरण भाँडियो ।
प्रचण्डले ओली राजामहाराजाको शैलीमा प्रस्तुत भएको भन्दै उनको तरिक ठीक नभएको टिप्पणी गरे । आफूलाई देशको ठेकेदार नसम्झन पनि उनले ओलीलाई चेतावनी दिए । राजा महाराजाले जसरी अरुलाई उल्याउने र निर्दशन गर्ने ओलीजीको तरिका ठीक भएन’, प्रचण्डले भने, ‘ओली देशको ठेकेदार होइन ।’
उनले अरुको सम्मान गर्न पनि आग्रह गरे । आफूहरुमाथि हेपाहा व्यवहार भए प्रतिकार गर्ने चेतावनी दिए ।
उनले गणितीय आधारमा संविधान ल्याए मुलुक मुठभेडमा जाने दोहोर्याए । प्रचण्डले आफूहरु अझै पनि सहमतिका लागि वार्ता र संवादकै प्रक्रियामा रहेको भन्दै सोमबार बस्ने १९ दलीय मोर्चाको बैठकबाट आन्दोलनको टुंगो लगाइने बताए ।
प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाप्रति पनि आक्रोश पोखे । प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहार फरक भएको टिप्पणी उनको थियो ।