अख्तियारको डरले दिए ११ शिक्षकले राजीनामा

काठमाण्डु टुडे २०७१ पुष ६ गते ९:५८ मा प्रकाशित

उदयपुर, ६ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र छानबिन गर्ने क्रम अघि बढाएपछि जिल्लामा अहिलेसम्म ११ जना शिक्षकले राजीनामा दिएका छन् ।

राजीनामा दिने शिक्षकमध्ये एकजना माध्यमिक तहको, एकजना निम्न माध्यमिक तहको र बाँकी सबै प्राथमिक तहका शिक्षक रहेको जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ ।

एकजना माध्यमिक तहका शिक्षक स्रोत व्यक्तिसमेत भएको बताइएको छ । निमाविका शिक्षकले भने स्वेच्छाले राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी हरि वस्तीले बताएका छन् ।

अहिले ११ जनामध्ये नौजना प्रावि तहका शिक्षकले आफूहरुको प्रमाणपत्रमा केही प्राविधिक समस्या भएको हुनसक्ने भएका कारण राजीनामा दिएको बताइएको छ । अझै एकजना मावि तहका र केही प्रावि तहका शिक्षक पनि राजीनामा दिन तयार रहेको उदयपुरका सहायक जिल्ला शिक्षा अधिकारी प्रणराज न्यौपानेले बताए ।

उनका अनुसार राजीनामा दिने सबै तहका शिक्षक स्थायी हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us