
गुवाहाटी, ६ पुस– दुर्गम उत्तरपूर्वी भारतीय राज्य मणिपुरमा आइतबार बिहान सबेरै भएको एक बम विस्फोटमा तीन व्यक्तिको मृत्यु भएको छ । मणिपुर नेपालीभाषीहरुको पनि बाक्लो बस्ती भएको राज्य हो ।
यस बम आक्रमणमा परी अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । विस्फोटन भएको सो क्षेत्रमा कयौं पृथकतावादी समूह सक्रिय रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
मणिपुर राज्यको राजधानी इम्फालमा घरेलु बम विस्फोटबाट निर्माणधीन काममा कार्यरत तीन कामदारको मृत्यु भएको प्रहरी निरीक्षक इबोम्चा सिंहले बताए ।
यस घटनामा घाइते भएका पाँच व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
यस क्षेत्रको ठूलो सहर गुवाहाटीदेखि ५५० किलोमिटर उत्तरपूर्वमा इम्फाल पर्दछ । मणिपुर राज्यमा कम्तीमा १७ वटा पृथकतावादी समूह रहेका छन् । ती पृथकतावादी समूहले सरकारी बललाई लक्ष्यगरी बारम्बार आक्रमण गर्ने गरेका छन् ।
मणिपुरमा स्वायत्त शासनको माग गर्दै त्यहाँका पृथकतावादी समूहले आन्दोलन गर्दै आएका छन् ।
रासस