
काठमाण्डु, ६ पुस–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सेवा प्रवाहको चाप भएका सरकारी कार्यालयमा मात्र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको दुई सिफ्ट सेवा लागू गरिएको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा सांसदहरुले यही पुस १ गतेदेखि मुलुकका विभिन्न सरकारी कार्यालयमा लागू गरिएको १२ घन्टे दुई सिफ्ट सेवाबारे प्रश्न गरेका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले १०–५ को सरकारी कामकाजको समयमा कुनै परिवर्तन गरिएको नभई जनतालाई सहज रुपमा सरकारी सेवा प्रवाह गर्न सेवा प्रवाहको चाप भएका कार्यालयमा मात्र सो व्यवस्था लागू गरिएको बताए ।
सांसदहरुले निजामती सेवा अस्पतालले दिने सेवा र आगामी दिनमा चालिनुपर्ने कदमका बारेमा उठाएको प्रश्नका सम्बन्धमा मन्त्री पण्डितले निजामतीका नाममा खुलेको अस्पताल भएकाले अन्य जनताको तुलनामा निजामती कर्मचारीले स्वाभाविक रुपमा केही थप सहुलियत पाएको जानकारी गराए ।
समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न बैठकमा सांसदहरुले कुनै पनि सरकारी कार्यक्रम घोषणा र लागू गर्नुअघि अनुसन्धान गरेर योजनाबद्ध रुपमा ल्याउन सुझाव दिएका थिए । रासस