एमाओवादी मोर्चा जाने भयो सडकमा

काठमाण्डु टुडे २०७१ पुष ६ गते ९:०९ मा प्रकाशित

Dahal meets President

काठमाण्डु, ६ पुस– एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेसँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय संैजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल गठन गरेको छ ।

भोलि कार्यदलले सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि भोलि नै अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका सदस्य तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बताए ।

मोर्चाले आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर मोर्चामा भएका छलफलका बारेमा अवगत गराएको छ । संविधानसभामा रहेका विवादका प्रतिवेदनलाई पुनः संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नै पठाउनका लागि आग्रह गरेको एमाओवादी अध्यक्ष प्रचण्डले जानकारी दिए ।
बैठकमा एमाओवादीले शनिबार काँग्रेस र एमालेसँग भएको छलफलका बारेमा जानकारी गराउँदै अब सङ्घर्षमा जानुको विकल्प नरहेको बताए पनि मोर्चामा वार्ता र सङ्घर्ष सँगसँगै अघि बढाउनेबारेमा सहमति भएको बताइएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनी प्रमुख तीन दलबीच भएको बैठकको सुरुवातमै एमाओवादीका नेताहरु असहमति राख्दै बाहिरिएका थिए ।

यसैबीच सभासुखलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश केपी ओलीको ठेक्का नभएको भन्दै कांग्रेस एमालेप्रति आक्रोश पोखेका छन् । उनले आफूहरु अब पनि सहमतिबाट संविधान नबन्ने हो भने सडक आन्दोलमा जान लागेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us