द्वन्द्वमा भत्काइएका गाविस भवन धमाधम निर्माण हुदै

काठमाण्डु टुडे २०७१ पुष ६ गते ७:३८ मा प्रकाशित

इलाम, ६ पुस–सशस्त्र द्वन्द्वका समयमा भत्काइएका र पुरानो भई ढल्न लागेका गाविस भवन निर्माणका लागि शान्ति तथा पुनः निर्माण मन्त्रालयले आर्थिक सहयोग गरेपछि भवन निर्माणको काम धमाधम शुरु हुन थालेका छन् ।

द्वन्द्वका क्रममा भत्किएका जमुना, गजुरमुखी, इभाङ र माईपोखरी गाविसको भवन चालु वर्षमा निर्माण हुने भएका छन् ।

भवन निर्माणका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्राविधिक कार्यालय इलाममा बजेट तथा अख्तियारी आइसकेको कार्यालय प्रमुख इञ्जिनियर ओमप्रसाद ढुङ्गानाले बताए । भवन निर्माणका लागि प्रत्येक गाविसलाई ४० लाखका दरले बजेट आएको बताइएको छ ।

इलामका धेरैजसो गाविस भवन द्वन्द्वका समयमा भत्काइएका थिए । ४३ गाविस र तीन नगरपालिका रहेको इलाममा आधाभन्दा बढी गाविस भवन बन्न बाँकी रहेको प्राविधिक कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us