
काठमाण्डु, ६ पुस– मूल्य घट्दा पनि पुरानै मूल्यमा पेट्रोलियम पदार्थ बेचेको भन्दै सहकर्मी पक्राउ परेको विरोधमा मजदुरहरु आन्दोलित भएपछि उपत्यकाका पेट्रोल पम्प बन्द भएका छन् ।
पेट्रोलियम मजदुर युनियनको आह्वानमा मजदुरहरुले पक्राउ परेकाको हिराईको माग गर्दै उपत्यकाका सबै पेट्रोल पम्प बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।
मजदुरले थानकोटास्थित आयल निगमको डिपोमा समेत ताला लगाएका छन् ।
मूल्य घटे पनि पूरानै मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने काठमाण्डुको कालिमाटीस्थित सीता पेट्रोल पम्पका कर्मचारीहरु विनोद घिमिरे र गोविन्द भट्टलाई बाणिज्य विभागअन्तर्गतको उपभोक्ता हित तथा बजार शाखाको टोलीले शुक्रबार पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।
अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्दै आयल निगमले शुक्रबार पेट्रोलमा ७ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य घटाएको थियो ।