प्रचण्ड–बाबुराम सहमति अस्वीकृत हुने डरले केन्द्रीय समिति फेरि स्थगित

काठमाण्डु टुडे २०७१ पुष ६ गते ५:२३ मा प्रकाशित

maoist-flagकाठमाण्डु, ६ पुस– एमाओवादीको आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

नेताहरु संविधान निर्माणमा व्यस्त हुनुपरेको कारण देखाउँदै दोश्रोपटक बैठक स्थगित गरिएको हो ।

यसअघि गत आइतबार बसेको बैठक गत पुस गतेका लागि बोलाइए पनि आजसम्मका लागि स्थगित भएको थियो ।

शीर्ष नेता संविधान निर्माण प्रक्रियामा व्यस्त भएको भन्दै पुस १३ गतेसम्मका लागि बैठक स्थगित भएको खबर आएको केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले काठमाण्डु टुडेलाई जानकारी दिए ।

गत वैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उत्पन्न किचलोका कारण ६ महिनासम्म बस्न नसकेको बैठक नेताहरुबीच पद बाँडफाँडमा कुरा मिलेपछि गत आइतबारबाट सुरु भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने र आगामी २०७२ सालको माघ अन्तिम साता विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।
उनको प्रस्तावमा महाधिवेशनले नेतृत्व हस्तान्तरणसम्बन्धी विधि ठोस गर्ने उल्लेख छ ।

प्रचण्ड र नेता बाबुराम भट्टराईबीच वैचारिक र संगठनात्मक नेतृत्व बाँडेर लिने सहमति भएपछि एमाओवादीमा नेतृत्व हस्तान्तरणको बहस सुरु भएको हो । स्रोतका अनुसार दुई नेताबीचको सहमति केन्द्रीय समितिमा अल्पमतमा पर्ने भएपछि आन्तरिक गृहकार्यका लागि बैठक स्थगित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us