सुनसरी, ५ पुस– अर्कैको गर्भ बोकेको भन्दै महिलालाई श्रीमानसहित परिवारका सदस्यले चरम यातना दिएर घरबाट निकालेका छन् ।
सुनसरी महेन्द्रनगर– २ चक्रघट्टीकी २१ वर्षीया सरु गौतम विमलीलाई श्रीमान् देवेन्द्र गौतमसहित परिवारका सदस्यले घरबाट निकालेका हुन् ।
सरुको पेटमा दुई महिनाको गर्भ छ । उक्त गर्भ आफ्नो नभएको भन्दै देवेन्द्रले आफूलाई यातना दिने गरेको पीडितले बताएकी छन् ।
विराटनगर–१ पोखरिया माइती भएकी उनले न्यायका लागि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी छन् । देवेन्द्रले रक्सी पिएर आएकाबेला जवर्जस्ती फोनमा अरु केटासँग बोल्न लगाउने गरेको उनले बताइन् ।
उजुरीपछि प्रहरीले देवेन्द्रलाई पक्राउ गरेको थियो । तर प्रमुख जिल्ला अधिकारीले ५ हजार धरौटी लिएर छाडिदिएपछि आफू निराश भएको उनको भनाइ छ ।
यसअघि भने बिहे गरेको एक वर्ष हुँदासम्म गर्भ नरहेको भन्दै आफूमाथि यातना दिने गरिएको उनले उल्लेख गरेकी छन् ।