
अर्घाखाँची, ५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एउटै पार्टीमा हुँदा नेक्रविक्रम चन्द ‘विप्लव’ ले गत संविधानसभा निर्वाचनमा एमाओवादी उम्मेदवार हराउन काँग्रेस उम्मेदवारसँग पैसा लिएको आरोप लगाएको छ ।
वैद्य माओवादीका जिल्ला संयोजक बाबुराम घिमिरेले शनिबार पत्रकार सम्मेलन गरी विप्लव र उनी पक्षधर जिल्ला नेता भेषराज भुसालले पैसा लिएको खुलासा गरेका हुन् ।
यस्तै विप्लवले चुनढुंगा खानी बन्द गर्ने पार्टी नीतिविपरीत खानी सञ्चालकबाट ६० लाख रुपैयाँ असुलेको आरोप लगाए । त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको उनको भनाइ छ ।
चुनाव बहिस्कार गर्ने पार्टी नीतिविपरीत पैसा लिएर विपक्षी उम्मेदवारलाई जिताएको विषयमा आफूले राज्य समिति बैठकमा कुरा उठाउँदा भुसालले जिउँदै माटामुनि गाडेर मारिदिने धम्की दिएको उनले बताए ।
पत्रकार सम्मेलनमा वैद्य पक्षको ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरियो ।